देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

प्रकाशित: 2077-7-13 गते

काठमाडौँ: भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडेमी प्रिन्सिपलले माफी मागेकी छन् ।

उक्त एकेडेमीमा भएको घटना सार्वजनिक भएपछि बिहीबार हरिद्वार–ऋषिकेश र देहरादूनस्थित नेपाली समाजका प्रतिनिधिले गरेको ताकेतापछि एकेडेमी व्यवस्थापनसँगको वार्ता बिहीबार साँझ ६ बजे टुंगिएको थियो ।

‘एकेडेमीका प्रिन्सिपल छिरिङ छोदेनले गत सोमबार भएको विद्यार्थीमाथिको हातपात एवं अमानवीय व्यवहारमाथि क्षमायाचना गर्दै यसमा छानबिन हुने बताउनुभएको छ,’ नेपाली समाजका प्रतिनिधि हरिद्वारका पुष्पराज पाण्डेयले कान्तिपुरसँग भने,‘घर फर्कन चाहने विद्यार्थीको अन्तिम सूची एकेडेमीले तयार गरेर पठाउने र त्यही अनुसार एक साताभित्र विद्यार्थीलाई नेपाल फिर्ता पठाउन प्रबन्ध गरिने भएको छ ।’


नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहार तथा सांघातिक तवरको कुटपिटबारेको खबर सार्वजनिक भएपछि हरिद्वारबाट पाण्डेय, देहरादूनस्थित गोरखा डेमोक्रेटिक संघका सूर्यविक्रम शाही, उत्तराखण्ड सरकारमा गोरखा कल्याण परिषद्का राज्यमन्त्री टीडी भुटिया, उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीसहितका प्रतिनिधि एकेडेमी पुगेका थिए ।

दसैं–तिहारको बिदामा घर फिर्न पाऊँ भनेर ४७ विद्यार्थीले निवेदन दिएपछि उब्जिएको विवादमाझ विद्यार्थीमाथि कुटपिट भएको र यही घटनाका कारण गत मंगलबार ७ जना नेपाली विद्यार्थी एकेडेमीबाट भागिसकेका छन् । ‘मैले घर जान्छु भनेर निवेदन दिएकै थिएन, तैपनि मलाई आवासीय कक्षाको ढोकामा लगेर थप्पड हानियो, ढोकामा टाउको ठोकाउने काम भयो,’ग्रेड ७ मा पढ्ने रुकुम घर भएका एक छात्रले फोनमा भने,‘किन यसो गरिएको हो भन्ने थाहै भएन ।’

एकेडेमीसँग वार्ता गर्न गएको नेपाली टोलीका संयोजक पाण्डेयका अनुसार सोमबार रातिको कुटपिट घटनामा सख्त घाइते भएका ३ जना विद्यार्थीलाई तत्काल अस्पतालमा लगेर उपचार गरिने र अरुको हकमा इच्छाअनुसार घर फिर्ता गर्न प्रबन्ध गरिनेछ । एकेडेमी प्रिन्सिपल छिरिङ छादेनसँग भएको लिखित सहमतिमा विद्यार्थी घर फिर्ता पठाउने क्रममा नेपाली प्रतिनिधि पाण्डेयले सबै विद्यार्थीका अभिभावकसँग सम्पर्क गरेर नेपाल–भारत बोर्डर नाकासम्म पुर्‍याउने प्रबन्ध गर्ने भएका छन् ।

एकेडेमीको व्यवस्थापन एवं खानपिनसहितको प्रबन्धबाट असन्तुष्ट भएर ३ देखि ७ ग्रेडसम्म पढ्ने ४७ विद्यार्थीले घर फिर्नका लागि निवेदन दिएकोमा ७ जना यसअघि एकेडेमीबाट भागिसकेका छन् । बाँकी ४० लाई एक साताभित्र घर पठाइने भएको छ । उनीहरु धादिङ, रसुवा, रुकुम, रोल्पा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखासहितका जिल्लाबाट आएका हुन् ।

घटनाबारे दिल्लीस्थित नेपाली दूतावास जानकार रहेपनि समस्या समाधानमा दिल्लीबाट ५ घण्टाको सडक यात्रामा पुगिने देहरादूनमा दुतावासका कोही पनि प्रतिनिधि पुग्न सकेनन् । दूतावासबाट प्रथम सचिव बाबुराम सिग्देलले फोन सम्पर्कबाट नेपाली समाजका प्रतिनिधिहरुसग कुराकानी गरेका थिए । कात्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ ...

ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने प्रचण्ड-नेपाल पक्षको निष्कर्ष

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले ...

आज ओलीले राख्दैछन्- पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझ ...