संसदको विशेष अधिवेशन बोलाउने कांग्रेसको एजेन्डा धकेलियो

प्रकाशित: 2077-7-1 गते

काठमाडौं : पार्टीको केन्द्रीय कार्यसमिति बैठकको अनिश्चिततासँगै संसदको विशेष अधिवेशन बोलाउने कांग्रेसको एजेन्डा पछि धकेलिएको छ । कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको गैरजिम्मेवार कदम र भ्रष्टाचारविरुद्ध छलफल गर्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् बैठक बोलाउने एजेन्डा पार्टी बैठकमा राख्ने तय गरेका थिए ।

असोज १९ गते बोलाइएको बैठकमै निर्णय गराएर प्रक्रिया अघि बढाउने योजनामा देउवा थिए । यस विषयमा पार्टीभित्र मतान्तरसमेत थिएन । प्रतिपक्षको प्रभावकारिता नभएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला संसद् बैठक बोलाउने कांग्रेसको अग्रसरताको अर्को विपक्षी दल जनता समाजवादीले पनि स्वागत गरेको थियो ।

पार्टीकै सात केन्द्रीय सदस्यलाई कोरोना पोजिटिभ देखिएपछि १९ गतेको बैठक बस्न सकेन । दोस्रोपटक असोज २५ गतेलाई बैठक सारियो तर पार्टीका पूर्वकोषाध्यक्षको निधनका कारण तत्काल बैठक स्थगित भयो । पछिल्लोपटक कोरोना संक्रमणको बढ्दो प्रभाव र पार्टीभित्रकै आन्तरिक किचलोका कारण बैठक अनिश्चित बनेको छ ।

कांग्रेस सहमहामन्त्री प्रकाशरण महतका अनुसार समावेदनको प्रक्रिया दसैंपछि हुने भए पनि निर्णय अगाडि नै गर्न खोजिएको बताए । ‘असोज १९ गते बैठक राखेर निर्णय गराउने कुरा भएको हो, बैठक बस्न नसकेपछि लम्बिएको छ,’ उनले भने, ‘संसद् बैठक बोलाउने र सामाजिक दूरी कायम गरी दसैंपछि विरोधका कार्यक्रम पनि सुरु गर्ने योजनामा कांग्रेस छ ।’

पार्टीद्वारा गठित सहमहामन्त्री महत नेतृत्वको कोभिड—१९ अनुगमन समितिको शुक्रबार प्रतिवेदन बुझ्दै देउवाले महामारीका बेला सरकार असंवेदनशील बनेको बताएका थिए ।

‘सरकार जनताको दुःखमा बेखबर छ, महामारी फैलिरहेको छ तर सरकारलाई चिन्ता छैन, संवेदनशील छैन, भेन्टिलेटर, आइसोलेसन, औषधि अभाव छ, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको छ,’ देउवाको भनाइ थियो, ‘अब कांग्रेसले विशेष संसद् बोलाएर यस विषयमा छलफल गराउनुपर्छ ।’

सभापति देउवालाई बुझाइएको समितिको प्रतिवेदनमा पनि सरकार महामारी नियन्त्रणमा संवेदनशील नभएको, जनस्वास्थ्यप्रति गैरजिम्मेवार, अहंकारी भएको जनाएको छ ।

‘सरकारले आमजनताको पीडा कम गर्ने प्रयत्न नगरेको मात्रै होइन, गैरजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थतिलाई थप जोखिमपूर्ण र भयावह बनाएको छ ।’

समितिले जनताको जीवन र जीविकोपार्जन दुवैलाई सघाउन सरकार पूर्णतः असक्षम भएको ठहरसमेत गरेको छ ।

‘विपक्षी, विज्ञ र आमनागरिकको सुझावसमेत नमानेर सरकार गैरजिम्मेवार र अनुत्तरदायी बन्न थालेपछि विरोधमा जानुपर्ने परिस्थिति आएको छ,’ महतले भने, ‘स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर दसैंलगत्तै विरोधका कार्यक्रम लिएर सडकमा पनि जान्छौं ।’

जनप्रतिनिधिको चाडबाड खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय

प्युठान : प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्च बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको का ...

आज इस्लाम धर्मका प्रवर्तक मोहम्मदको १४९५ औँ जन्मोत्सव मनाइँदै

काठमाडौं : आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव नेपालसहित विश्वभर मनाइँदै छ । यसदिन लाई ‘मोहम्मद डे’ पनि भनिन्छ । आजको दिनमा ...

देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

काठमाडौँ: भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडे ...