चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन : न भौतिक दुरी न सतर्कता !

प्रकाशित: 2077-6-30 गते

नेपालीको महान् चाड दशैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न पुगेको छ ।

कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयनमा आशंका हुन थालेको छ । आमनागरिकमा अनुशासन हराउँदै जाँदा मापदण्ड कार्यान्वयनमा नै समस्या सिर्जना भएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डका अधिकांश बुँदाहरू कार्यान्वयनमा आउन नसक्दा जोखिम दिन प्रतिदिन बढ्दै गएको विज्ञहरूको भनाइ छ । हाल औसतमा दैनिक २ हजार ५ सय जनाको हाराहारीमा संक्रमित थपिन थालेका छन् ।

के के छ मापदण्डमा ?
— भेटघाटमा दुई मिटर दुरी अनिवार्य
—अँगालो नमार्ने र नमस्कार गर्नुपर्ने
—सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने
— प्रसाद वा अन्य फलफूल घरमै गएर बाँड्ने
— नदी वा तलाउमा समूहमा नुहाउन नहुने
— सम्भव भएसम्म एकाघरका परिवारका सदस्य मात्रै बसी चाडबाड मनाउने

स्वास्थ्य मन्त्रालयले गत २२ साउनमा चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड जारी गरेको थियो । अहिले पनि अधिकांश सर्वसाधारणले भौतिक दुरी पालना गरेका छैनन् भने मास्कको समेत समुचित प्रयोग गरेका छैनन् ।

सर्वसाधारणदेखि उच्च ओहोदामा बसेकाहरूको हेलचेक््रयाइँले जोखिम थप बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । अहिले बजारमा सामान किन्नका लागि सर्वसाधारणको दिनहुँ घुइँचो लाग्ने गरेको छ । बजारमा अत्यधिक भीड भए पनि न त स्वयं व्यक्ति सतर्क रहन्छन् न त स्थानीय प्रशासनले भीडलाई नियन्त्रण गर्न कुनै प्रभावकारी कदम नै चाल्न सकेको छ ।

अत्यावश्यक र अनिवार्यअन्तर्गत सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोवास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने, भेटघाट गर्नुपर्ने भएमा कम्तीमा २ मिटरको दुरी अनिवार्य रूपमा कायम गर्नुपर्ने प्रावधान मापदण्डमा छ ।

यस्तै, चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने, जानैपर्ने भए सहभागी हुँदा मास्क वा ३ तहको कपडाको मास्कको प्रयोग अनिवार्य रूपले गर्नुपर्ने बुँदा समेटिएको छ । मापदण्डमा चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने उल्लेख छ ।

अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने तर अँगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने, अनुहारको टी क्षेत्र (आँखा, नाक र मुख) सकेसम्म नछुने, छुनै परेमा हात धोई वा हातमा स्यानिटाइजर प्रयोग गरी मात्र छुने विषय मापदण्डमा समेटिएको छ । सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएबमोजिम पैसाको कारोबार गर्दा विद्युतीय माध्यमबाट कारोबार गर्ने बुँदा मापदण्डमा उल्लेख छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै जोखिमबाट बच्न स्वयं व्यक्तिले अनुशासनको पालना गर्नुपर्ने बताए । उनले भने, ‘संक्रमणबाट बच्ने उपाय भनेको आफंै सतर्क रहने हो । भौतिक दुरी कायम हुनुपर्छ र मास्कको समुचित प्रयोग गर्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन नगरिए संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने बताए । उनले भने, ‘हुल बाँधेर कहीँ कतै नजाऔं । बजारमा अत्यधिक भीड बढेको छ, हेलचेक््रयाइँ नगरौं ।’ राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् । 

जनप्रतिनिधिको चाडबाड खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय

प्युठान : प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्च बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको का ...

आज इस्लाम धर्मका प्रवर्तक मोहम्मदको १४९५ औँ जन्मोत्सव मनाइँदै

काठमाडौं : आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव नेपालसहित विश्वभर मनाइँदै छ । यसदिन लाई ‘मोहम्मद डे’ पनि भनिन्छ । आजको दिनमा ...

देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

काठमाडौँ: भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडे ...