१९ वर्षपछि जीर्णोद्धार हुँदै नारायणहिटी संग्रहालय

प्रकाशित: 2077-5-31 गते


काठमाडौँ : शाहवंशको साढे दुई सयवर्षे शासन इतिहासलाई एकीकृत ढंगले समेट्ने गरी नारायणहिटी दरबार संग्रहालयको जीर्णोद्धार भइरहेको छ । अन्य दरबारमा रहेका शाहकालीन भौतिक वस्तुहरूसमेत संग्रहालयमा राखिने भएको छ । दरबार हत्याकाण्डपछि पहिलो पटक दरबारको अग्रभागको प्रवेशद्वार रङरोगन र जीर्णोद्धार कार्य सकिएको छ ।

गत वर्ष गठित नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले बृहत् योजनासहित निर्माण कार्यलाई तीव्रता दिएको हो । जीर्णोद्धार सकेर संग्रहालय खुला हुन अझै केही महिना लाग्ने भएको छ । यसअघि आंशिक रूपमा खुलेको संग्रहालय लकडाउन भएयता बन्द छ ।

यो ऐतिहासिक दरबारको दक्षिण मोहडाको प्रवेशद्वारलाई गौरीशंकर ढोका भनेर चिनिन्छ । सम्पदाजन्य स्वर्ण, चाँदीजडित यमानको गौरीशंकरद्वार झलक्कै देखिन्छ । ढोकासम्म पुग्न शिलाबाट बनेका खुड्किलाहरूको दायाँबायाँ लहरै राखिएका सिंह, हात्ती, घोडा, मयुर र माछाको मूर्ति गाढा कालो रङमा टल्किएका छन् । दरबारको हरेक द्वार तथा ढोकाहरूको नाम हिमालको नामबाट राखिएका छन् । त्यसैगरी कोठा तथा कक्षहरू जिल्लाका नामबाट चिनाइएका छन् । ती कक्षहरू फरक–फरक विशेषताका छन् ।

यही सिँढी चढेर प्रवेश गरेलगत्तै कास्की सदन प्रवेश हुन्छ । यहाँ लेखिएको छ– ‘यस कक्षमा राजकीय भ्रमणमा आउनुहुने राष्ट्राध्यक्षको स्वागत, प्रधानमन्त्री तथा प्रधानन्यायाधीशको शपथ ग्रहण समारोह र पूर्वराजामा राजदूतहरूले ओहोदाको प्रमाणपत्र चढाउने समारोह जस्तो महत्त्वपूर्ण औपचारिक कार्यक्रमहरू सम्पन्न हुन्थ्यो ।’ दरबारको भित्री भागमा मिस्त्रीहरूले धमाधम सरसफाइ र रङरोगनका काम जारी राखेका छन् ।

भदौ अन्तिम सातासम्म दरबार अग्रभागको आवरण सबैतिर रङरोगन भइसकेको छ । यद्यपि दरबार प्रवेश गर्नुअघि सडकको कालोपत्रे भने चिरा परेकै अवस्थामा छ । त्यसभन्दा अगाडिको खुल्ला भागका दायाँबायाँ दुईवटा तोप राखिएकामध्ये पूर्वतर्फको तोप टेकोविहीन भएर भत्किएको छ । त्यसलाई यथास्थानमा सजाउन सिकर्मीले नयाँ टेको कुँदिरहेका छन् । उसबखत विजयादशमीको साइतमा राजाले सर्वसाधारणलाई लामबद्ध गराएर टीका ग्रहण गराउने स्थल प्लास्टिकले छोपिएका छन् ।

कोरोना भाइरसका कारण जारी लकडाउनमा संग्रहालय अवलोकन बन्द गरिए पनि जीर्णोद्धार तथा निर्माण कार्य सुचारु राखेको समितिका कार्यकारी निर्देशक भेषराज दाहालले बताए । गत पुसमा समितिको कार्यकारी निर्देशक नियुक्त भएपछि संग्रहालयको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरेको दाहालले जनाए । ‘लकडाउनका बेलामा पनि २५ प्रतिशत कर्मचारीले आलोपालो गरी निरन्तर काम गर्दै छन्,’ दाहालले कान्तिपुरसित भने, ‘दरबारको बाहिर र भित्रतर्फ सरसफाइ, रङरोगन, शृंगारपटार, तस्बिरहरूका क्याप्सन सुधारको काम भएको छ । योजनाअनुसार अरू काम भइरहेको छ । अब चाँडै नारायणहिटी दरबार संग्रहालयको वेबसाइट बन्दै छ ।’

मध्यकालीन योजनाअन्तर्गत दरबार परिसर बगैंचामा रहेका विभिन्न जातका बोटबिरुवा वनस्पतिको व्यवस्थापन गर्ने, राजा वीरेन्द्रको निवास श्रीसदन खोल्ने उनले जनाए । त्यसैगरी गणतन्त्र स्मारक भवनको तल्लो तलाको हलमा आन्दोलनमा शहादत प्राप्त सहिदहरूको सम्झना झल्किन फोटा, चित्रकला, साहित्यका सामग्री संग्रहालय रहनेछ ।

दरबार परिसरमा रहेका राजा र राजपरिवारसँग सम्बन्धित विभिन्न स्थान रहेका छन् । धार्मिक आस्थाका देवीदेवताहरू छन् । जसमा पूर्वतर्फको शिखरशैलीमा बनेको नारायणको मन्दिर तथा हिटी (धारा), बाली गणेश, लिच्छविकालीन अजिमाथान छन् । झिलपोखरी, त्रिभुवन पोखरी, त्रिभवन बंगलालगायत पुनरुत्थान तथा जीर्णोद्धार गरिँदै छन् । पश्चिम–उत्तरमा सिकारीघर रहेको छ । त्यहाँ विभिन्न समयमा राजा, युवराजले सिकार खेलेका जीवजनावरका छालाहरू राखिएका छन् ।

नेपाली सेनाले राजपरिवारले प्रयोग गरेका एभ्रो विमान र हेलिकप्टर दरबार संग्रहालय परिसर पुर्‍याएको छ । यही भदौ अन्तिम साता दरबार परिसर पुर्‍याइएको उक्त विमान श्रीसदन पश्चिमतर्फको बदामे चौरमा राखिने छ । संग्रहालय परिसरमा जर्मन शासक हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको गाडी डेन्टिङपेन्टिङ अन्तिम चरणमा पुगेको छ । त्यसैगरी युवराज दीपेन्द्र, युवराज्ञी श्रुति र युवराज निराजनका बाल्यकालमा गुडाएका सानादेखि अनेकौं मोटर गाडीहरू प्रदर्शनीका निम्ति तम्तयार राखिएका छन् ।

दीर्घकालीन योजनाअन्तर्गत नेपालमा शाहवंश सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास समेटेर ‘लाइट एन्ड साउन्ड’ (डिजिटल इतिहास) निर्माण गरी प्रदर्शन गरिने कार्यकारी निर्देशक दाहालले बताए । ‘यो दरबार संग्रहालयको अग्रभागमा राखिनेछ, जसले नेपाललाई चिनाउने छ,’ सबैका निम्ति प्रमुख गन्तव्यस्थल बनाउने प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै दाहालले भने, ‘नारायणहिटी दरबार शाहवंशको अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गरिने छ । संग्रहालय अवलोकन गर्न आउने आगन्तुकले कम्तीमा पाँच–छ घण्टा बिताउन सक्नेछ । दर्शकलाई बग्गी वा गाडीमा चढाएर अवलोकन गराइने छ । सरकारले अनुमति दिए चाँडै खुला गर्छौं ।’

समितिले संग्रहालय परिसरमा क्याफ्टेरिया सञ्चालनका निम्ति टेन्डर गरिसकेको छ । दरबार हत्याकाण्ड घटनास्थल त्रिभुवन सदन ब्लक ‘ख’ जीर्णोद्धार अन्तिम चरणमा छ । ठूला रूखहरू छास्ने काम भएका छन् । बगैंचाहरू, पोखरी स्याहारसुसारको काम बाँकी छ । प्रशासनिक सेवाका १ सय ९७ कर्मचारी कार्यरत छन् । पुरातत्त्वविद्, संग्रहालयविज्ञ, कन्जरभेटर, टेक्सोडोमिस्ट, फोटोग्राफर, गाइडलगायत प्राविधिक कर्मचारीको दरबन्दी माग गरेको कार्यकारी निर्देशक दाहाल बताउँछन् । कोभिड–१९ ले गर्दा बजेट कटौतीमा परेकाले समस्या हुन सक्ने उनले जनाए ।

काठमाडौं महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसर उत्तरतर्फ सेनाको एक पृतना कार्यालय रहेको छ । मध्य भागमा महेन्द्र मन्जिलमा मुमा बडामहारानी रत्न बस्दै आएकी छन् । पूर्वतर्फ गणतन्त्र स्मारक र पश्चिमतर्फ परराष्ट्र मन्त्रालयको राहदानी विभाग रहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नारायणहिटीको बाहिरी पर्खाल, भित्री पर्खाल र रणोदीपसिंह दरबार पुनर्निर्माण जारी राखेको छ । सरला भवन पुनर्निर्माण प्रक्रिया अघि बढेको छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०६५ असार १ गते उक्त संग्रहालयको उद्घाटन गरेका थिए । त्यही वर्ष फागुन १५ गते अर्का प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त संग्रहालय सर्वसाधारणका निम्ति प्रदर्शनीको शुभारम्भ गरेका थिए । दरबारभित्र विभिन्न बैठक कोठाहरू, राजारानीका शयन कक्षहरू, राजकीय पाहनाहरूले प्रयोग गर्ने शयन कक्षहरू, भान्सा कोठा, भोजन कोठालगायत ५२ वटा कोठा रहेका छन् । तीमध्ये ३१ वटा कक्षलाई प्रदर्शनीमा ल्याइएका थिए । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ भदौ २९ गते श्रीपेच, राजदण्ड कक्ष सर्वसाधारणका निम्ति खुला गरेका थिए । अब अधिकांश क्षेत्र प्रदर्शनीमा राखिने जनाइएको छ ।

मलमासमा पहिले महिला घर छाड्थे अहिले पुरुष छाड्दै!

स्याङ्जा सदरमुकाम निवासी रोशन लामिछाने असोज १ गते ससुराली पुगे। मलमास छल्न र ससुराली भेटघाटका लागि गएको उनले बताए। सधैंजसो काममा व्यस्त हुने लामिछान ...

कति तल्ला ठडियो धरहरा, कति छ बाँकी?

१२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम दुई वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौताअनुुसार दुई वर्षमा पुनर्निर् ...

आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो

काठमाडौँ : आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन दिनमै पछि हट ...