परराष्ट्र मन्त्रालयकै नक्कली लेटरहेड र छाप बनाएर करोडौँ ठगी

प्रकाशित: 2077-5-30 गते

काठमाडौं : सरकारको दाबी छ– अपराध नियन्त्रणमै छ । तर, अपराधी र ठगको हौसला बुलन्द तथा आत्मबल उच्च छ । उनीहरूलाई कानुन र प्रहरीकै कुनै डर छैन । कुपन्डोलका मनोज भनिने अनुपकुमार सिंहको ठगी धन्दाले त्यही भन्छ । तीन दिनअघि पक्राउ परेका सिंहमाथि पाँच दिनको म्याद थपेर प्रहरी अनुसन्धान जारी छ ।

युरोप र अमेरिका लैजाने प्रलोभनमा एक करोड रुपैयाँभन्दा धेरै ठगी गरेको अभियोगमा प्रहरीले सिंहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले वर्किङ भिसामा अमेरिका र युरोपका विभिन्न मुलुक लैजाने प्रलोभनमा ठगी धन्दा चलाउँदै आएका थिए । असनस्थित उनकै कार्यालयमा छापा मारेपछि ठगी गर्ने खेल बाहिर आएको हो । 

आफ्नो ठगी कर्म अगाडि बढाउन सिंहले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागको नक्कली लेटरहेड तथा छाप बनाउँथे । यतिले मात्र नभई युवालाई फसाउन उनले नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट कार्यालयको समेत नक्कली लेटरहेड तथा छाप बनाएका थिए । यसका आधारमा उनले पटक–पटक गरेर ३५ देखि जनालाई ठगेको अनुमान छ । 

काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले उनलाई सरकारी कार्यालयको नक्कली लेटरहेड र छापसहित पक्राउ गरिएको बताए । ‘ठगिएको जाहेरी परेको थियो । त्यसपछि उनी पक्राउ परेका छन् । उनको कार्यालयमा छापा मार्दा परराष्ट्र मन्त्रालयका नक्कली छाप र लेटरहेड भेटियो,’ प्रवक्ता राठौरले भने, ‘कागजपत्रमा आफैँले हस्ताक्षर गर्ने रहेछ । छाप पनि आफैँ लगाउँदो रहेछ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ ।’

असनस्थित कार्यालयमा छापा मार्दा प्रहरीले विभिन्न सरकारी कार्यालयको छाप र लेटरहेड बरामद गरेको थियो । प्रहरीका अनुसार उनले बेलायती सरकारमातहतको श्रम मन्त्रालय र नेपाल सरकारमातहतको श्रम मन्त्रालयबीच श्रम सम्झौता भएको नक्कली कागजात बनाउने गर्थे । 


श्रमिकका लागि परराष्ट्र मन्त्रालयमार्फत बेलायतबाटै माग आएको भन्दै आफैँ नक्कली मागपत्र बनाउँथे । पत्रमा मजदुरका लागि निर्धारण भएर आएको पारिश्रमिक पत्रसमेत देखाउँथे । सम्पर्कमा आएकालाई सोही पत्र देखाउँथे । जान चाहनेसँग आवश्यक सबै कागजपत्र माग्थे । 

केही महिनापछि कागजपत्र बुझाउनेलाई फोन सम्पर्क गरेर बोलाउँथे । भिसा आएको भन्दै नेपालस्थित दूतावासका कर्मचारीको हस्ताक्षर र छाप हानिएको कागजपत्र उनीहरूलाई दिन्थे । यसबापत उनले प्रतिव्यक्ति न्यूनतम १६ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले उनको कार्यालयबाट बेलायती सरकारमातहतको श्रम मन्त्रालय र नेपाल सरकारको श्रम मन्त्रालयबीच सम्झौता भएको भन्दै होटेल मिडल्यान्डका लागि मजदुर माग गरिएको मागपत्र बरामद गरेको छ । नेपाल सरकारको परराष्ट्र मन्त्रालयको लेटरहेडमा उल्लेखित मागपत्रमा वैदेशिक रोजगार विभागका उपसचिव सञ्जय रावलको हस्ताक्षर छ । सँगै नेपालस्थित बेलायती दूतावासमातहतको कन्सुलेट अफिसको छापसमेत पत्रमा छ ।

‘यसले विदेशका विभिन्न मुलुकबाट श्रमिक माग भएको भन्दै आफैँ हस्ताक्षर गर्ने रहेछ । लेटरहेडदेखि छापसमेत आफैँ बनाउँदो रहेछ । भ्रममा परेका सर्वसाधारणबाट यसले १६ लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ,’ परिसर प्रवक्ता एसपी राठौरले भने, ‘अहिलेसम्म हामीकहाँ दुई पीडितको जाहेरी परेको छ । जाहेरी आउने क्रम जारी छ । त्यसो हुँदा यसले धेरैजनाबाट ठूलो रकम ठगेको हुन सक्छ । अनुसन्धान जारी छ ।’ 

प्रहरीका अनुसार अहिले मनोज अधिकारी र रामकृष्ण खत्रीको जाहेरी परिसरमा परेको छ । पीडितमध्ये अधिकारीलाई बेलायत र खत्रीलाई अमेरिका लैजाने प्रलोभन दिएको थिए । यसका लागि अधिकारीले साढे १६ लाख रुपैयाँ र खत्रीले पनि १५ लाख रुपैयाँभन्दा धेरै रकम बुझाइसकेका छन् । पक्राउ परेका सिंहविरुद्ध सरकारी कागजात किर्ते, ठगी र चेक बाउन्सको मुद्दा चल्ने परिसरका प्रवक्ता एसपी राठौरले बताए । 

उनले भने, ‘सरकारी कागजात किर्ते गरेको छ । त्यस्तै यसले काटेको चेक पनि बाउन्स भएका छन् । त्यसो हुँदा यसलाई सरकारी कागजात किर्ते, चेक बाउन्स र ठगी मुद्दाअन्तर्गत म्याद थप भएर अनुसन्धान भइरहेको छ ।’ नयाँ पत्रिका दैनिकाबाट

सम्भावित सत्ता गठबन्धन : कांग्रेस नेताहरुको विभिन्न तर्क

नेकपाभित्रको शक्तिसंघर्ष झन्डैझन्डै विभाजनतर्फ उन्मुख भइरहेका वेला सम्भावित नयाँ गठबन्धनबारे कांग्रेस अलमलमा छ। नयाँ पुस्ताका नेता अहिले सरकारमा ...

कोरोनाविरुद्धको खोप खरिद गर्न सरकारले ५० अर्ब छुट्यायो, कस्तो खोप ल्याइँदै छ नेपालमा?

नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड-१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ। त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पु ...

दिउँसै बालुवाटार छिर्न देउवालाई ओलीको तीन कल फोन!

तीन कल फोनको करामत थियो, कांग्रेस सभापति शेरबहादुर देउवा दिउँसै बालुवाटार छिर्नु। नेताहरुले सभापति देउवालाई पटकपटक भन्दै आएका थिए, ‘संकट पर्दा उन ...