कोरोनाले छटपटाइरहेका बिरामी बाहिरै, शव भने तीन दिनसम्म आइसियू बेडमै

प्रकाशित: 2078-1-20 गते

कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले । उनीहरू शान्त हुन पाएका थिएनन्, दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले । अर्को दिन अर्थात् शुक्रबार टाढाका आफन्त आएपछि फेरि रुवाबासी भयो।

शोकसन्तप्त आफन्त आउने, वेदना पोख्ने र जाने तीन दिनसम्म चहिरह्यो । बिहीबार मृत्यु भए पनि शनिबारसम्म शव आइसियू बेडमै थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मृत्यु भइसकेपछि शव किन उठेको छैन? छिमेकी बेडका बिरामीका कुरुवाले सोध्दा अस्पताल प्रशासनले भन्यो, ‘मृतकको छोरा दिल्लीमा छन्, उता पनि लकडाउन भएकाले आउन समस्या भएको छ, छोरो आउनासाथ बेडबाट निकालिन्छ ।’ शनिबार छोरा आएपछि मात्र अस्पताल र सेनाको समन्वयमा शव व्यवस्थापन भयो।

पल्लो बेडमा अन्तिम सास लिइरहेको बिरामीको मृत्यु भयो, आफन्तहरू पालैपालो आएर रोइरहेका छन् । वल्लोपल्लो बेडमा भएका बिरामी यो सबै हेर्न बाध्य छन् । यसले उनीहरूलाई मनोवैज्ञानिक रूपमा कस्तो प्रभाव पा¥यो? त्यो त छँदै छ । तर, तीन दिनसम्म आइसियू बेडमा रहँदा सिकिस्त बिरामीले भने बेड पाइरहेका छैनन्, बेडमा पुग्न नपाई उनीहरूको मृत्यु भइरहेको छ । शव उठाउने विषयमा स्पष्ट नीति नबन्दा अन्य धेरै अस्पतालमा शव बेडमा छन्, बिरामी बाहिर छन्।

भेरी कोरोना विशेष अस्पताल नेपालगन्जमा उपचाररत सल्यान बागचौर नगरपालिका– १२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे ज्यान गयो । चिकित्सक र स्वास्थ्यकर्मीलाई त्यसको जानकारी भए पनि शव व्यवस्थापनका लागि आएनन् । बेलुकी ६ बजेसम्म उनको शव बेडमै थियो ।

आफ्नैअगाडि छेउको बिरामीले ज्यान गुमाएपछि पल्लो बेडमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका– २ खैरापुरका निर्मल बुढाथोकी हतास बने । जिउ फतक्क गलेजस्तो भयो । शरीर ल¥याकलुरुक भयो । सास फुल्यो । उनले पल्लो बेडको शवतर्फ हेर्न नै सकेनन् ।

‘आफ्नैअगाडिको बिरामीले मृत्युवरण गरेको देखेर छटपटी भयो । आफूलाई पनि त्यस्तै हुने हो कि भनेर मन पोल्यो । त्यता हेर्न नसकेर अन्तै मुख फर्काएर पल्टिएँ,’ बुढाथोकीले भने, ‘बोल्दाबोल्दै सास गएको देखेर मन निकै व्याकुल हुन्छ ।’ उनले आफ्नै आँखाअगाडि धेरै बिरामीले ज्यान गुमाएको देखेका छन् ।

बिरामी आफन्तको कुरुवा बसेका गुलरिया नगरपालिका– २ का दिनेश पौडेलले आइसोलेसन कक्षबाट शव उठाइदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीसँग धेरैपटक आग्रह गरे । तर, कसैले सुनेन । बेलुकी ६ बजेपछि मात्रै शव बाहिर निकालियो।

‘दिनभर शव बेडमै राखिरहँदा अन्य बिरामी र कुरुवालाई ठूलो तनाव हुने गरेको पौडेलले बताए । भन्छन्, ‘हाम्रो बिरामी रहेको बेडनजिकै भएकाले हामीलाई दिनभर तनाव भयो । आफ्नै आँखाअगाडि मरेको बिरामीको शव दिनभर हेरेर बस्नुपर्दा बिरामीलाई झन् कस्तो भयो होला? तपाईं आफैँ सोच्नुस् ।’

कोरोनाको ‘हट स्पट’ नेपालगन्जमा लामो समयसम्म शव व्यवस्थापन नहुँदा अन्य बिरामी र कुरुवाले मानसिक तनाव झेल्नुपर्ने मात्र होइन, बेडका लागि पालो कुरिरहेका अन्य बिरामी पनि समयमा उपचार पाउनबाट वञ्चित भइरहेका छन् ।

श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक् ...

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालन गरिने

काठमाडौँ: वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, न ...

माधव नेपालको दौडधुप

काठमाडौँ : प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादे ...