बालुवाटारमा ओलीको न्यानो स्वागत पाएपछि जी न्युजको अभियान-‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’

प्रकाशित: 2077-9-28 गते

भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ ।

यो यही टोली हो जसलाई प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ताका लागि बालुवाटारमा न्यानो स्वागत गरेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा जनार्दन बराल र नेत्र पन्थीले लेखेका छन्।

भारतको नोयडास्थित स्टुडियोमा बसेर कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्ने जी न्युजको टोलीले सगरमाथामा दाबी प्रस्तुत गर्न भने सगरमाथा क्षेत्रमै पुग्ने अवसर पाएको छ । आश्चर्य के छ भने ५ कात्तिकमा ‘र’ प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्रसम्मको भ्रमण गराएको छ।

सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भन्दै थिए–

मेरोअगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौँ । यो माउन्ट एभरेस्टको सबैभन्दा नजिकको बिन्दु हो । यसवेला हामी १७ हजार पाँच फिट उचाइमा छौँ । यस भागलाई कालापत्थर भन्छन् । यहाँ पछाडि हाम्रो हेलिकोप्टर छ । हामी हेलिकोप्टर लिएर यहाँ आयौँ । यो ठूलो कुरा हो । हामी यति उचाइमा छौँ कि मलाई सास फेर्न पनि कठिन भएको छ । हामी यहाँ बिल्कुलै एक्लै छौँ । हाम्रो आसपास अरू कोही छैन । म छु, मेरो क्यामरापर्सन छन् । हाम्रो पाइलट पनि छन् । तर, उनी हेलिकोप्टरमै छन् ।

‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु ।

म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।

यो माउन्ट एभरेस्ट आरोहण गर्ने दुई मार्ग छन्, एउटा नेपालको तर्फबाट, अर्को चीनतर्फबाट । खासमा तिब्बतबाट हो, तर तिब्बतलाई चीनले आफ्नो भनी दाबी गर्छ । त्यसैले यो शिखरभन्दा उतापट्टि चीनबाट पनि माउन्ट एभरेस्ट आरोहण गर्न सकिन्छ । यो बाटो पनि छँदै छ ।

आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ रु वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।

राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।

हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।

म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’

सुधीर चौधरीले कालापत्थरमा अचानक भावुक भएर यो कुरा बोलेका होइनन्, उनले यसका लागि दिल्लीबाटै नोट बोकेर आएका थिए । ठीक एक महिनाअघि २ डिसेम्बरमा स्टुडियोबाट यही दाबीसहित विस्तृत रिपोर्ट बजाएका थिए । उनी त्यही अभियानअन्तर्गत नेपाल आएको बुझिन्छ । उनले कालापत्थरबाट ‘पिस टु क्यामेरा’ मात्र दिएनन्, स्टुडियोमा फर्किएर यो रिपोर्टको अन्त्यमा फेरि पनि सगरमाथामा भारतीय दाबी दोहोर्याए ।

‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ ।

तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

यसरी नेपालका प्रधानमन्त्रीको अन्तर्वार्ता लिने भनेर नेपाल आमन्त्रण गरिएका भारतीय पत्रकारले सर्वोच्च शिखरमाथि नै दाबी प्रस्तुत गरेर नेपाली राष्ट्रियतालाई फेरि उद्वेलित गराएका छन् । यो विषय किन पनि गम्भीर छ भने जी न्युजको अन्यन्तै विवादापस्द पृष्ठभूमि हुँदाहुँदै पनि उनलाई देशका प्रधानमन्त्रीका सरकारी निवासमा न्यानो स्वागत गरिएको थियो ।

जी न्युजले नेपाली संवेदनशीलतामाथि निकै भद्दा आक्रमण गर्दै आएको छ।

चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ। सरकारले आगामी १७ र २७ वैशाखका लाग ...

नेपालमा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ३ जनामा नयाँ प्रजा ...

बेलायतमा एक मिनेटमा १४० जनाले लगाए कोरोना खोप

काठमाडौं : बेलायतले कोरोनाविरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वि ...