– सुरेश हाचेकाली
लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननका एकलौटी अधिकार होइनन् ।
नेपाली गीत लेखनमा सम्भवतः भूपि शेरचन, गोपाल योञ्जनहरू नै पहिलो पुस्ता थिए, जसले गीतमा काव्यको महकता अन्वेषण गरे । त्योभन्दा अलि पछिल्लो पुस्तामा आइपुग्छन् गीतकार टीका चाम्लिङ । वि.सं. २०३० सालमा माझकिरात अन्तर्गत खोटाङको नुन्थलामा जन्मिएका टीकाका अहिलेसम्म ४ वटा प्रिन्ट माध्यमका गीतसङ्ग्रहहरू प्रकाशित छन् । सपनाको रङ (२०६०), समयको रङ (२०६४), जूनको बस्ती (२०६८) र मुन्दुम र मालिङ्गो (२०७१) गीतसङ्ग्रहहरूमा मुख्य रुपमा किराती मिथक, लोकविम्ब, किराती सांस्कृतिक अभिव्यञ्जनालाई टिपेर टीकाले त्यसलाई सार्वभौम मानवतासँग जोड्दै श्रम र जीवनको पक्षमा लय निर्माण गरेका छन् । सङ्घर्ष र श्रमको गीत कोर्ने टीका गीतमार्फत् किराती चिनारीलाई नेपाली साहित्यमा स्थापित गराउन लागीपरेका एक शक्तिशाली सर्जक हुन् । यो लेखमा हामी चक्रव्यूह सञ्चेतनाको ऐकिक पद्धतिअनुसार टीका चाम्लिङका गीतमा कसरी किराती संस्कृतिको लघु विम्बकोष निर्माण भएको छ र ती गीत कसरी सार्वजनिक मानवतासँग जोडिएर आएका छन् भनेर खोज्ने क्रममा छौँ ।
गीतसङ्ग्रहको शीर्षकमा रहेका शब्दहरूमध्ये ‘मुन्दुम’ले किराती आदिवासीको संस्कृतिलाई बोकेको छ भने ‘मालिङ्गो’ले प्रकृतिलाई बोकेको छ । परम्परागत रुपमा मालिङ्गो किरातीहरूसँग अभेद्यरुपले गाँसिएको छ । उनीहरू मालिङ्गोको चोयाबाट डोको, थुञ्चे, कोसेलीपात ओसार्ने फिपी, सुँगुरपाठा बोक्ने पेरुङ्गोलगायत घरायसी प्रयोगमा आउने सामानहरू बुन्छन् । टीका प्रकृति र संस्कृतिको उच्च स्तरीय कवितात्मक भावका गीत लेख्ने स्रष्टा हुन् । तल उद्यृत यी हरफले मालिङ्गोलाई सीमान्त मान्छेको विम्बको रुपमा उभ्याउँदै बहिष्करणको आवाजलाई समेटेको पाइन्छ ।
मालिङ्गो हुँ टाढा कतै अभेगतिर छु
युगौंदेखि एक्लो–एक्लो म लेकतिर छु (मालिङ्गो हुँ, १५)
किराती संस्कृतिका कैयौं शब्दहरूले टीका चाम्लिङका गीत रञ्जित छन् । यसका साथै किराती मिथक, लोकोक्ति र सांस्कृतिक रीतिथितीले भरिपूर्ण ती गीतहरूले एउटा लघु विम्ब कोष नै खडा गरेका छन् । एउटा उदाहरण यस्तो छ–
यो रङ्गीचङ्गी सहरभित्र
खोज्दैछु आफ्नै मुहार–चित्र
सक्दिनँ भुल्न पुर्खाको कथा
साकेला–न्वागी, माङ र पित्र (पुर्खाको कथा, १४)
टीका चाम्लिङको प्रसङ्गमा कविता गीत हो र गीत कविता हो । उनको सृजनामा गीत र कविताले एकाकार स्वरुप ग्रहण गर्दछन् । दार्शनिक धरातलमा उभिएर जीवनको पक्षपोषण गर्ने उनका हार्दिक र सुललित गीतले जीवनको सारगर्भित सत्यलाई समेटेकोले यिनीहरू कविता पनि हुन् । झट्ट हेर्दा बौद्धिक तर विम्बको सञ्योजन नै नहुने कतिपय कविताले नेपाली साहित्य विगतदेखि वर्तमानसम्मै आक्रान्त भएको परिप्रेक्ष्यमा टीका चाम्लिङका गीतले सफलतापूर्वक कविता र गीतको दुवै किनारालाई स्पर्श गरेर अगाडि बढेका छन् । तलका हरफले आकाशजस्तो अनन्त सपना बोकेर हिँड्ने र एकपल्ट हाँस्नको लागि अनेकौं पटक रुन तयार हुने एक स्वाभिमानी मान्छेको चित्र सशक्त तरिकाले उभ्याएको पाइन्छ ।
कतिले देखे मलाई जीर्ण कतिले ठाने यात्रा भो अन्त
बुझेनन् तर स्वाभिमानीको आकाश जस्तै स्वप्न अनन्त
यी घाउहरू नभए सायद म पनि कहाँ हुने थिएँ र
एकै पल हाँस्न अनेकौं पल्ट यसरी कहाँ रुने थिएँ र ! (यी दुःखहरू, २१)
गीतकै निम्ति जीवन अर्पेको साधकजस्तो लाग्ने टीका चाम्लिङ आफ्नो जीवन र गीत दुवैमा दुःखको ‘सेलिब्रेसन’ गरिरहेको भेटिन्छन् । केही उदाहरणहरू हेरौं–
समस्या त बहाना हो पिउने मान्छेलाई
सुख–दुःख गहना हो जिउने मान्छेलाई (जिउने मान्छेलाई, ५६)
आँसु केवल पानी होइन पीर धुने झरना हो
सधैं रुनु कमजोरी हो कहिलेकाहीँ गहना हो (आँसु, ३०)
आँसुको यति मार्मिक व्याख्या गर्ने यो शक्तिशाली अभिव्यक्तिले नेपाली सङ्गीतको वर्तमान उपभोक्तावादी बजारमा शक्तिशाली सङ्गीत र शक्तिशाली स्वर नपाउनु टीकाका शब्दहरूको मात्र दुर्भाग्य हैन, सिङ्गो नेपाली सङ्गीतको दुर्भाग्य हो ।
आफ्ना पुर्खाहरूको आर्जनप्रति टीका असीम लगाव राख्छन् । कति विद्रोहहरू ध्वङ्सात्मक हुन्छन् । तिनले शदियौं पुराना हाम्रा मूर्त र अमूर्त निर्मितिलाई क्रान्तिको नाममा समाप्त पारिदिन्छन् र विजातीय मानवतालाई जोड्ने कडीहरू चुँडाएर समाजलाई पुनरोत्थान नै गर्न नसकिने गरी विरुप पारिदिन्छन् तर परिपक्व चेतनाका धनी टीका अन्तरसांस्कृतिक मानवतालाई जोड्न यसो भन्छन्–
कुल र पित्र मानिरहनू
इष्ट र मित्र राखिरहनू
यी धर्म, कर्म, संस्कृतिहरू
हृदयभित्र बचाइरहनू
भन्छन् सधैं सपनीमा
मलाई मेरा पुर्खाहरूले (मेरा पुर्खाहरूले, ४६)
बङ्गाली कवि रवीन्द्रनाथ टैगोरले यो संसार पर्खालै पर्खालले विभाजित भएको र यहाँ जात, धर्म राष्ट्रियता र नश्लका अनेकौं पर्खालहरूले मानवतालाई सङ्कुचित पारेको र ती पर्खालहरू नभत्किएसम्म मान्छेको दिमाग त्रासमुक्त नहुने आशय व्यक्त गरेजस्तै टीकाका गीतले पनि अन्धविश्वास र अमानवीयताबाट मानव मुक्तिको आराधना गरेका छन् । उदाहरणस्वरुप तलका हरफ हेरौं–
भेट्छु कति आपैmँजस्ता असहाय रोगी
तिनलाई छाडी बन्दिनँ म ढुङ्गा पुज्ने ढोँगी
धेरै मान्छे धेरै टाढा पुगे अनेक बाटो
मैले हिँड्ने तर एउटै मानवताको बाटो (मानवताको बाटो, ३९)
अर्कोतिर आदिवासी जनजातिहरूले आफ्नो मातृथलोलाई गर्ने गरेको प्रेमलाई टीकाले यसरी टिपेका छन्–
म आदिम मान्छे यो आदिभूमि
म जिउँछु मर्छु यसैलाई चुमी (आदिभूमि, २८)
आफू सम्बन्धित संस्कृतिको क्षयीकरणप्रति टीकाको सचेतना यसरी प्रकट भएको छ–
सिली खेल्ने आँगनमा जरियो रे बन्सो
बज्दैन रे ढोलझ्याम्टा मादलुको रन्को
....
बिरानोले मुहान टेक्दा रिसाउँदो हो सिमे
कसले पुज्ने उँभौली र उँधौलीमा भुमे (आकाशे खेती, ६६)
हाम्रा प्राकृतिक र सांस्कृतिक निधिहरूको गौरवबोध गरेका छन् टीकाका गीतहरूले । उनी लेख्छन्–
तिम्रो गाउँ चिन्ने आउँछन् सागरपारिबाट
सुनचाँदी टिपी लान्छन् फापरबारीबाट (डोल्पा गाउँ, ३७)
एकातिर आफू जन्मेको पुख्र्यौली किराती भूमि र संस्कृतिप्रति टीकाका गीतलेअक्षुण्ण अनुराग प्रक्षेपण गर्छन् भने अर्कोतिर नेपाली समाजको बहुसंस्कृति र त्यसभित्रको जीवनपक्षीय स्पन्दनलाई समातेको पाइन्छ । यसरी आफ्नो मातृसंस्कृति र त्यो सँगै उठेका अरु समकक्षी संस्कृतिहरूको उजागर र गौरव नै टीकाका गीतको मर्म हो । तलका दुई उदाहरण हेरौं–
यो भूमि चुम्ने पहिलो हामी हौं मूलबासी
यो सृष्टिजस्तै पुरानो हामी हौं किराती (हामी हौँ किराती, ११२)
कहीँ छ देउडा, हुड्केली कहीँ छ बालन, सङ्गिनी
कहीँ छ कौडा, ल्होसार कहीँ छ घाटु मारुनी (अमर संस्कृति, ११३)
भौतिक वैभवको आशक्तिले मान्छे अन्धो हुन्छ तर दुई छाक नुनपानी खान छोडेको दिन सुनको महल पनि छोडेर जानुपर्छ भन्ने सत्यलाई यी हरफले आन्तरिकीकरण गरेका छन्–
बाँचुञ्जेल सुनको महल मरे सुनपानी
जिउनलाई काफी हुन्छ दुई छाक नुनपानी (सुनको महल, ७६)
निःसन्देह टीका चाम्लिङ जीवनलाई सरल भाषामा दार्शनिक ढङ्गले अभिव्यक्त गर्ने गीतकार हुन् । गरिब, सडक बालबालिका, बाल मजदुर, शोषित नारी, विदेशिएको श्रीमान्को प्रेममा विक्षिप्त गाउँले महिला, हिमाल आरोही, ग्रामीण आमा, उद्योग मजदुर जस्ता अनेकौं निम्छरा पात्रहरूको दुःख र तिनीहरूको भाषालाई टीकाले गीतको मालामा थुङ्गा बनाएका छन् । उनी निम्नवर्गीय पात्रप्रति संवेदनशील र सहानुभूतिमूलक भेटिन्छन् ।
कतिपय कुरामा टीका अरु गीतकारसँग समान देखिएलान् तर उनको दूरस्थलबाटै देखिने छुट्टै विशेषता चाहिँ गीति अभिव्यक्तिमा भेटिने जीवनदर्शन हो । उनका गीतमा दार्शनिक सूक्तिको बाहुल्य छ । उनी गीतमा किराती संस्कृतिसँगै अन्तरसांस्कृतिक समन्वयात्मक भाव र जीवनलाई परिभाषित गर्ने सङ्घर्षशील भाष्य बोकेर हिँडेका छन् । सार्वजनिक मानवताको धून भेटिने उनका गीतले कवितालाई चुनौती यस अर्थमा दिन्छन् कि सरदर कविताले बोक्ने जीवनदर्शनभन्दा बढी उनका गीतले बोक्ने जीवनदर्शन सुस्पष्ट, अभिव्यञ्जनापूर्ण र हार्दिक छ । राजनीतिक सङ्क्रमणको उत्ताउलो समयमा धेरै सर्जकका सृजनामा आक्रोश र विद्रोहात्मक चेत धेरै भेटिएको सन्दर्भमा गीतकार टीकाको शब्दसंयोजनमा शालीनता र समन्वयात्मक चेत भेटिन्छ । गालीको भाषाबाट टीकाले आपूmलाई जोगाएर सकारात्मक सन्देशको भाषा बोकेका छन् । क्षुद्र गाली बिक्ने बजारमा टीकाले धेरै पहिले परिपक्वता हासिल गरिसकेको आभाष उनका यी गीतहरू पढ्दा हुन्छ । किराती संस्कृतिको गौरवमय जगबाट सुरु हुने टीकाको गीतियात्रा विस्तारित हुँदै नेपाली राष्ट्रियताको उचाइसम्म पुगेको छ भन्ने कुराको पुष्टि यी तलका हरफहरूले पनि गर्दछन् ।
लगायौं खेती पसिना पोखी सीप, श्रम, उद्यमले
पुका¥यौं जीवन धर्ती र आकाश बाँधेर मुन्दुमले (पर्दैन खोज्नु, २५)
जस्तो लिपि लेखे पनि नेपालीकै गीत होस्
जस्तो झेल झेले पनि नेपालीकै हित होस् (नेपालीकै जित होस्, १११)
बजारका बिकाउ शब्दप्रति सम्मोहन नराखी गीतको सर्वोच्च गिरि छुन हिँडेका गीतकार टीका चाम्लिङ चारवटा मूल्यवान् गीतसङ्ग्रहको जन्मबाट थाकेका छैनन् । किराती संस्कृतिलाई नेपाली समाजको बहुसंस्कृतिसँग जोडेर जीवन र श्रमको पक्षमा उनले लेख्ने काव्यमय गीतहरूको प्रतीक्षा नेपाली साहित्यले गरिरहेको छ ।
