आवश्यक तयारीस्वरुप सुरक्षा समन्वयात्मक छलफल भइसकेको र सम्भावित चुनौतीलाई मध्यनगर गर्दै आजैदेखि चौबिसै घन्टा रहनेगरी सुरक्षाकर्मीलाई विभिन्न स्थानमा खटाइएकोे सुरक्षा निकायले जनाएको छ ।
सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उक्त कार्यविधिअनुसार सुरक्षा समन्वयका लागि रथीको नेतृत्वमा चारओटै सुरक्षा निकायका अधिकारी सहभागी सुरक्षा समन्वय समितिले समन्वयात्मकरुपमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । मंगलबार अपराह्न काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमासमेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
उनले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराकोसमेत भ्रमण गर्ने भएकाले ती क्षेत्रमासमेत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले अन्य विशिष्ट व्यक्तिलाई दिइने सुरक्षाअनुसार नै अहिलेपनि सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए । भ्रमणकाक्रममा हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन् ।
उनीसँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेसमेत शिष्टाचार भेट गर्ने जनाइएको छ ।
नेपाल बसाइँका बेला बंगलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नेछन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिए ।
उनको भ्रमणका लागि यसअघि चिनियाँ राष्ट्रपतिलाई दिइएझैं विमानस्थलका साथै प्रयोग हुने सडक र निवासस्थलसम्म आवश्यक सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए ।
भ्रमणको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न सडकका प्रत्येक खम्बामा नेपाल र बंगलादेशका राष्ट्रपतिको तस्वीर राखिएको छ । भ्रमण सम्पन्न गरी उनी कात्तिक २९ गते अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसअघि, गत असोज २५ र २६ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गरेका थिए ।
उक्त समयमा विमानस्थलसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका सडक सजाइएको तथा कालोपत्र गरिएको थियो भने ठाउँठाउँमा नयाँ बगैंचासमेत निर्माण गरिएको थियो ।