काठमाण्डौं: 'पठन प्रवृतिको विकाश, सृजनशीलताको अभ्यास' भन्ने उद्देश्यका साथ २०७३ सालमा स्थापित संस्था 'आभा For Creativity'ले मिति २०७५ पौष २८ गते शनिवारका दिन कालिकास्थानस्थित सर्वनाम थिएटरमा 'आभा काव्य लहर-३' सम्पन्न गरेको छ। कविताविशेष उक्त कार्यक्रममा चारजना कविले जम्मा चौबीसवटा कविता सुनाएका थिए। कविहरु क्रमश: डा. देवी नेपाल, मनोज बोगटी, वि.पी. अस्तु र सुरज पराजुलीले आआफ्ना छछवटा कविता वाचन गरेका थिए। बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म चलेको उक्त कार्यक्रममा कविताप्रेमी, अग्रज बुद्दिजीवि, लेखक, पत्रकारहरु तथा साहित्यानुरागी व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
कलाका विभिन्न पाटाहरु साहित्य, चित्रकला, पर्फर्मेन्स आर्ट, संगीत तथा जनचेतनामूलक समाजसेवामा अनवरत रुपमा कदम चालिरहेको 'आभा For Creativity'ले 'आभा काव्य लहर' शीर्षकको काव्य शृङ्खला यसैवर्ष असारदेखि सुरु गरेको र कार्यक्रम हरेक तीनतीन महिनामा आयोजना हुने यस शृङ्खलाका कार्यक्रम संयोजक योगेश घिमिरेले बताउनु भयो।
