राजेश मिश्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्भको शुरुवात र अन्त्य कहाँ हुन्छ, उनी स्वयंलाई थाहा हुन्न। मंगलबार बिहान यसबर्षको संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्न उनी ढल्की ढल्की ढीलो आईपुगे। उनकालागि निर्धारित समय ईक्वेडरका राष्ट्रपतिले उपयोग गर्दैथिए। ट्रम्पको आगमनपछि इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले आफ्नो कुरा छोट्याएर अमेरिकी राष्ट्रपतिका लागि माईक छाडिदिए।
२०१६ को चुनाव जितेका ट्रम्पलाई अहिले देखिने २०२०को चुनावी रनाहा लागिसकेको छ। त्यसैले उनी हरेक साता चुनावी शैलीका भाषण गर्दै हिंडेका छन्। आगामी नोवेम्बरमा हुने मध्यावधि चुनावमा संसदको बहुमत गुम्ने सम्भावित खतराले उनलाई थप आक्रामक तुल्याएको छ।
राष्ट्रसंघीय सम्बोधनमा पनि शायद ट्रम्प यही चुनावी प्रचारको धन्धंगी बोकेर पुगेका थिए।
"मेरो कार्यकालमा अमेरिकाको ईतिहासमै सर्वोत्तम उपलब्धी हासिल भएको छ।" सम्बोधनको शुरुवातमै उनले यसो भन्दा बिश्वभरीका सरकार प्रमुख र कूटनीतिज्ञहरु मुख छोपेर हाँसेको उनले प्रष्टै देखे। "मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिईन। तर ठीकै छ।" ट्रम्पले प्रतिक्रियाको प्रतिक्रिया व्यक्त गरे। त्यसपछि पुरै सभाहल मुखमाथिको हात हटाएर गलल्ल हाँस्न बाध्य भयो।
ट्रम्प आफ्नो चुनावी भाषणमा भन्ने गर्थे, "आज सारा संसार अमेरिका देखेर हाँस्दै छ। हाम्रो गिल्ला गर्दैछ।" गएको जुलाई २१ तारिकमा आफ्नो क्याबिनेट बैठकमा समेत उनले यो कथन दोहोर्याएर "अमेरिका पहिले" नीतिमा जोड दिएका थिए।
राष्ट्रसंघमा ट्रम्पले आफ्नो चुनावी शैलीमा यही कुरा दोहोर्याउंदा उनकै मुखका सामु सारा जगतका प्रतिनिधि हांसिदिए।
आफ्नो पैंतीस मिनेट लामो सम्बोधनमा डोनालड ट्रम्प कुनै पनि दृष्टिले विश्वको एक सर्वाधिक शक्तिशाली राष्ट्रका जिम्मेवार नेताका रुपमा प्रस्तुत हुन सकेनन्।
नभनी भनिएका कुरा !
"अमेरिकाले के गर्नुपर्छ, अरु कसैले सिकाउने आवश्यकता छैन।" उनले भने, "सबै मुलुकहरु आफ्नो संस्कार, बिश्वास र परम्पराका आधारमा अगाडि बढ्न स्वतन्त्र छन्। हामी कसैलाई यो गर वा त्यो गर भन्दैनौं।"
उनले यसो भन्दा महासभा हाँसेंन। शायद सबैजना अमेरिकाले बलपूर्वक संसारभरी आफ्नो स्वार्थ मुताविकको ईच्छा लादेको ईतिहास सम्झिन व्यस्त थिए। तर ट्रम्पको सम्बोधनको गुह्य कुरो खुल्न बाँकी नै थियो। उनले कुरा खोले, "जहाँ सम्म हाम्रो बिदेशी सहयोगको कुरा छ, जसले हाम्रो सम्मान गर्छ, जो हाम्रो मित्र हो, हामी उसलाई मात्र सहयोग गर्छौं।"
"हामी कसैलाई यो गर वा त्यो नगर भन्दैनौं" भन्ने ट्रम्पले वास्तवमा अरु धेरै कुरा भन्न बाँकी नै थियो। उनको पहिलो तारो 'समाजवाद' भयो।
"आज सारा विश्वले समाजवादको बिरोध गर्नु जरुरी छ। यसले केवल पीडा मात्र दिन्छ," भेनेजुएलाको उदाहरण दिंदै उनले भने। ट्रम्पले यसो भन्दा मलाई नेपाली प्रतिनिधिमंडलको नेतृत्व गर्दै न्युयोर्क आएका प्रधानमन्त्री खड्गप्रसाद ओलीको अनिहार हेर्ने उत्कट आकान्क्षा थियो। तर क्यामराको लेन्स उनीतिर फर्किएन। नेपालको संविधानको प्रस्तावनामै मुलुक समाजवाद तर्फ उन्मुख रहने प्रतिबद्दता उल्लिखित छ।
तर अमेरिकाले नेपाललाई उति चासो दिनुपर्ने कारण पनि छैन।
यदि नेपालको सीमाना चीनसंग नगाँसिएको हुँदो हो त, महाराजगन्जमा त्यति ठूलो आकारको अमेरिकी दूतावास बन्ने पनि थिएन। आखिर अमेरिकामा जुनसुकै पार्टीको जोसुकै राष्ट्रपति भएपनि उसले नेपाललाई हेर्ने आँखा भारतले लगाएको चस्मा नै हो। ट्रम्पले आफ्नो भाषणमा एक अरब जनसंख्या भएको भारतले गरेको आर्थिक प्रगतिकालागि प्रसंशाको एक वाक्य पनि बोलिदिएपछि ओलीले के सोचे होलान कुन्नि!
जसरी बिदेशी उक्साहटमा नेपालमा कथित जनयुद्द गरेर सत्र हजार लाशको चिहानमाथि सत्ता ठड्याउने ओलीका हालका सहयात्री पुष्पकमल दाहालको "मुलुकमा शान्ति प्रक्रिया शुरु गरेको"ले नोबेल शान्ति पुरस्कार पाउने सपना छ, डोनाल्ड ट्रम्प पनि यस्तै अभिलाषाका शौखीन हुन्।
उनी उत्तर कोरियालाई "शान्ति वार्तामा" ल्याए बापत आफूलाई यसको हकदार ठान्छन। अघिल्लो बर्षको राष्ट्रसंघीय महासभामा "रकेट म्यान" भन्दै मानमर्दन गर्ने ट्रम्पले उत्तर कोरियाली नेता कीम जोंग उनलाई यसपटक "चेयरम्यान कीम" का नामले पुकारे। एकबर्ष अघि "पूर्ण रुपले ध्वस्त पारिदिने" धम्की पाएको उत्तर कोरिया अहिले ट्रम्पको "सफल विदेश नीति"को एक उदाहरण भएको छ। यद्दपी, यसको परिणाम आउँन बाँकी छ।
ईरान महात्म्य
एकतिरको संकटको प्वाल टालेर अर्को तिर भ्वांग पार्ने ट्रम्पको नीति ईरान प्रकरणमा यसपटक फेरि प्रकट भयो। पूर्व राष्ट्रपति बाराक ओबामाले सन् ०१५ मा ईरानले आफ्नो आणविक अस्त्र निर्माण कार्यक्रममा रोक लगाउने शर्तमा ईरानको विश्व व्यापारमा लगाईएको नाकाबन्दी खुकुलो पार्ने सहमतिबाट ट्रम्पले एकतर्फी रुपमा हात झिकिदिए। यद्दपी, यो सहमति अमेरिका र ईरानको मात्र थिएन। यसपटक पनि राष्ट्र संघमा ट्रम्पले आफ्नो यो निर्णयको पक्षपोशण गर्दै ईरानमाथि क्षेत्रिय आतंकवादलाई प्रोत्साहित गरेको आरोप लगाए।
तर अमेरिकाकै सहयोगी राष्ट्रहरु ट्रम्पको यो कुरामा सहमत छैनन्। ईरानसंग अमेरिका संगै सहमति गर्ने अन्य सदस्य राष्ट्रहरु बेलायत, फ्रान्स, जर्मनी, रसिया र चीनले ईरानसंगको सहकार्यमा अमेरिकालाई पछाडि छोडिसकेका छन्। यी राष्ट्रहरुले ईरानसंगको व्यापारका लागि "बिशेष भुक्तानी व्यवस्था" को आरम्भ गरेका छन्। ट्रम्पले तारिफ गरेको भारतले समेत ईरान संग डलरको सट्टा भारतीय मुद्रामा तेल किन्ने सम्झौता गरिसक्यो। अमेरिका अलगथलग छ। जसरी जलवायु सम्बन्धी "पेरिस विश्व सन्धी" बाट एकलौटी रुपमा बाहिरिने अमेरिका विश्वकै एक्लो मुलुकका रुपमा दरिएको छ।
चुनावी उपयोग
आफ्नो सम्बोधनका क्रमले ट्रम्पले तेल उत्पादक "ओपेक" समूहका मुलुकलाई पनि छोडेनन्। "या त तेलको मोल घटाउ, अथवा हामीले तिमीहरुको सुरक्षाका लागि गरेको खर्चको शोधभर्ना गर," उनले टोले गुण्डाको शैलीमा चेतावनी दिए। "यिनीहरु हामीलाई लुट्दैछन। "
उनले चीनलाई "अनाधिकृत ब्यापार" का लागि दोषी ठहर्याए, तर रसियाले सिरियामा कायम राखेको हस्तक्षेप वा आफ्नै मुलुकको चुनावी प्रक्रियामा मचाएको भांडभैलोका बारेमा एक शब्द बोलेनन्।
ईरानका राष्ट्रपति हसन रोहानीले आफ्नो बोल्ने पालोमा ट्रम्पमा "बौद्दिक अल्पता" को समस्या रहेको दावी गरे।
ट्रम्पले राष्ट्रसंघीय मंच विश्वका लागि होईन, आफ्नो मुलुकको चुनावका लागि आफ्ना समर्थकलाई रिझाउन प्रयोग गरेको देखियो। अमेरिका विश्व समुदायबाट एक्लिने यात्रा जारी छ। संयुक्त राष्ट्र संघको यसपटकको महासभामा ट्रम्पको प्रस्तुति एउटा अर्को कोसे ढुङ्गा मात्र हो।
ट्रम्पको सोच र समझको केन्द्रमा ट्रम्प मात्रै छन्। बौद्धिकता संग उनको कुनै सरोकार छैन। तर उनी लाटा पनि होईनन। अमेरिकामा राष्ट्रवादको आवरणमा उर्लेको गोरो नश्लवादका लागि ट्रम्प जति "मूर्ख" देखिन्छन, उनी र उनका मतदातालाई त्यतिनै लाभ हुनेछ।