मोरोक्को: यो सिजनको पहिलो उपाधिस्वरुप फुटबलको महारथी बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ। मोरोक्कोको ट्यान्जियर शहरको तटस्थ मैदानमा भएको सुपरकपको भिडन्तमा बार्सिलोनाले सेभिल्लालाई २-१ ले पराजित गरेको हो। सेभिल्लाले खेलको सुरुवातमै अग्रता लिएरपनि बाँकी खेल अवधिभर राम्रो प्रदर्शन गर्न नसकेपछि अन्तत: बार्सिलोनाले सुपरकपको उपाधि किर्तीमान तेह्रौंपटक जित्न सफल भएको छ। स्पेनिस सुपरकपको ३२औं संस्करणको भिडन्त तय गर्न बार्सिलोनाले गतवर्ष लालिगा र कोपा डेल रेको उपाधि जितेको थियोभने सेभिल्ला कोपा डेल रेको उपविजेता बनेको थियो। स्पेनिस सुपरकपमा साधारणतया लिगविजेता र कोपा डेल रेको विजेता टिमहरु भिड्ने गर्छन्। तर गतवर्ष दुईवटै उपाधि बार्सिलोनाले जितेपछि सेभिल्लाले कोपा डेल रेको उपविजेताको हैसियतले सुपरकप खेल्ने अवसर पाएको हो।
खेलमा ९औं मिनेटमा पाब्लो सराबियाको गोलद्वारा सेभिल्लाले अग्रता लिएको थियो। खेलमा सम्हालिन नपाउँदै सुरुमै गोल खान पुगेको बार्सिलोनाले ४२औं मिनेटमा डिबक्सबाहिर पाएको फ्रिकिकलाई मेस्सीले पोस्टको दिशा दिन सफल भएपनि बल पोस्ट र गोलकिपरमा ठोक्किएर फर्किएको थियो। सेभिल्लाको डिबक्सभित्र रहेका बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले उक्त बललाई सजिलै गोलमा परिणत गरेका थिए। त्यसपछि खेलमा पूर्णतया पकड जमाएको बार्सिलोनाले ७८औं मिनेटमा अग्रता लिन सफल भएको थियो। उसमान डेम्बेलेले डिबक्सबाहिरबाट गरेको कडा प्रहार गोलमा परिणत भएको थियो। बार्सिलोनाले खेलमा पाएका थुप्रै सुन्दर अवसरहरुलाई सेभिल्लाका गोलकिपर टोमस भाट्सलिकले विभल तुल्याएका थिए। खेलको अन्त्यतिर सेभिल्लाले पाएको पेनाल्टीलाई बेन येड्डेरले प्रहार गरेतापनि त्यसलाई बार्सिलोनाका गोलकिपर आन्द्रे टर स्टेगनले सजिलै बचाएका थिए। यो सिजन बायर्नबाट बार्सिलोना आएका चिलीयन खेलाडी आर्टुरो भिडालले खेलको अन्त्यतिर डेम्बेलेको ठाउँमा मैदानमा छिर्ने अवसर पाएका थिए।
स्पेनिस सुपरकपको यो उपाधिसंगै मेस्सीले आफ्नो करियरमा किर्तीमानी ३३औंपटक उपाधि जितेका छन्।
बार्सिलोनाले आगामी बुधबार जोन ग्याम्पर ट्रफीको उपाधिका लागि गृहमैदान क्याम्प नुमा अर्जेन्टिनी क्लब बोका जुनियर्ससंग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, सेभिल्लाभने आगामी बिहिबार जाल्गिरिस भिनियसविरुद्ध युरोपा लिगको तेश्रो क्वालिफाइङ राउण्डको खेल खेल्न लिथुवानिया जानेछ। लालिगामा बार्सिलोनाको पहिलो खेल अलाभेससंग अर्को हप्ता हुनेछभने सेभिल्लाले रायो भालेकानोको सामना गर्दै लिगको सुरुवात गर्नेछ।


